
गौरीगञ्ज माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाज (GSES) को प्रथम साधारणसभा मिति २०७८ असोज असोज १ गते शनिवारका दिन ललितपुर जिल्ला, ललितपुर उपमहानगरपालिका, वडा नं. ५, कुमारीपाटी स्थित युनाइटेड एकेडेमीको सभाहलमा सञ्चालन भएको थियो । यसमा समाजका ७० जना सदस्यहरुको उपस्थिति रहेको थियो ।
यो साधारणसभाको कार्यक्रम तीन चरमा सञ्चालन भएको थियो । पहिलो चरणमा कार्यक्रमको शुभारम्भ, स्वागत तथा परिचयसहित गौरीगञ्ज माध्यमिक विद्यालयका पूर्व शिक्षकहरू तथा पूर्व कर्मचारीहरूलाई गौरीगञ्ज माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजका तर्फबाट सम्मान गरिएको थियो । दोस्रो चरणमा साधारण सभाका विषयवस्तुसम्बन्धी प्रतिवेदन तथा प्रस्ताव प्रस्तुत, समाजका गतिविधिको समीक्षा, छलफल तथा आवश्यक निर्णयहरू लिइएको थियो । तेस्रो चरणमा आगामी कार्यकालका लागि कार्यसमितिको छनोट गरिएको थियो । पहिलो सत्रको कार्यक्रमको सञ्चालन गौरीगञ्ज माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजका सचिव डा. लेखनाथ पौडेलले गर्नुभएको थियो । समाजका अध्यक्ष डा. कविराज वान्तवाको अध्यक्षतामा सञ्चालित कार्यक्रमको प्रारम्भ राष्ट्रिय गानबाट गरी सहभागी सदस्य तथा अतिथिहरूको परिचय पश्चात् गौरीगञ्ज माविका पूर्व शिक्षकहरू श्री ऋतुराज आचार्य र श्री मोहनलाल साहबाट संयक्तु रूपमा दीप प्रज्वलन गरी साधारण सभाको शुभारम्भ गरिएको थियो । यसपछि उपस्थित सम्पूर्ण सदस्यहरू, सम्मानका लागि आमन्त्रित पूर्व शिक्षक तथा कर्मचारी महानुभावहरू र आमन्त्रित तथा अतिथि महानुभावहरूलाई गौरीगञ्ज माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजका उपाध्यक्ष श्री रमेशप्रसाद कोइरालाले स्वागत मन्तव्यसहित स्वागत गर्नुभएको थियो । स्वागत मन्तव्यपछि गौरीगञ्ज माविका दिवङ्गत पूर्व शिक्षक तथा पूर्व विद्यार्थीहरूलाई एकमिनेट मौन धारणसहित श्रद्धाञ्जली अर्पण गरिएको थियो । त्यसपछि अतिथि तथा केही सदस्यहरूले सङ्क्षिप्त शुभकामना मन्तव्य राख्नु भएको थियो । मन्तव्य राख्नेहरूमा गौरीगञ्ज माध्यमिक विद्यालय पूर्व विद्यार्थी तथा यस समाजका सदस्यसमेत रहनु भएका पूर्व मन्त्री श्री युवराज कार्की, यस समाजका सदस्य श्री जीतबहादुर बस्नेत र यस समाजका सदस्य डा. प्रेमलकुमार जोशी हुनुहुन्थ्यो । यस कार्यक्रम गौरीगञ्ज मावि पूर्व विद्यार्थी उदीयमान गायक श्री बलबहादुर राजवंशीले गौरीगञ्ज मावि पूर्व विद्यार्थी श्री वेदेन्द्र ढकालद्वारा रचित गीत गाएर मनोञ्जन प्रदान गर्नु भएको थियो ।
शुभकामना मन्तव्यपछि गौरीगञ्ज माविका पूर्व शिक्षकहरू श्री ऋतुराज आचार्य, श्री मोहनलाल साह, श्री हरिलाल बराल, श्री विष्णुमान श्रेष्ठ, श्री उमानाथ भण्डारी, श्रीकृपानाथ दत्त र श्री धर्मनारायन दास तथा पूर्व कर्मचारीहरू श्री केशरबहादुर श्रेष्ठ, श्री जगन्नाथ शर्मा र श्री विदेशी यादवलाई सम्मान गरिएको थियो । सम्मानित पूर्व शिक्षक तथा कर्मचारीहरूलाई सम्मानपत्र प्रदान गर्नुका साथै दोसल्ला ओडाइएको थियो । सम्मानित पूर्व शिक्षकहरूमध्ये कार्यक्रममा उपस्थित हुनुभएका श्री ऋतुराज आचार्य, श्री मोहनलाल साह र श्रीकृपानाथ दत्त तथा सम्मानित पूर्व कर्मचारीहरूमध्ये कार्यव्रmममा उपस्थित हुनुभएका श्री जगन्नाथ शर्मा र श्री विदेशी यादवलाई गौरीगञ्ज माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजका अध्यक्ष तथा उपाध्यक्ष, सचिव तथा कोषध्यक्षले दोसल्ला ओडाइएर, सम्मानपत्र प्रदान गरेर र टिका लगाइदिएर सम्मान गर्नु भएको थियो । सम्मानित पूर्व शिक्षकहरूमध्ये यस कार्यक्रममा उपस्थित हुन नसक्नु भएका पूर्व शिक्षकहरू श्री हरिलाल बराल, श्री विष्णुमान श्रेष्ठ, श्री उमानाथ भण्डारी, श्री धर्मनारायन दास तथा पूर्व कर्मचारी श्री केशरबहादुर श्रेष्ठलाई प्रदान गरिने सम्मान पत्र वाचन गरिएको थियो । यसपछि सम्मानित व्यक्तित्वमध्येबाट श्री ऋतुराज आचार्य, श्री मोहनलाल साह र श्री जगन्नाथ शर्माले मन्तव्य राख्नु भएको थियो । यस पछि स्थापनाको २५ वर्ष पुगेको अवसरमा डा. कविराज वान्तवा तथा युनाइटेड एकेडेमी परिवारलाई गौरीगञ्ज मावि पूर्व विद्यार्थी समाजका तर्फबाट समाजका उपाध्यक्ष तथा सचिवले बधाई तथा शुभकामना पत्र युनाइटेड एकेडेमीका प्रिन्सिपल डा लाल रापचालाई प्रदान गर्नु भएको थियो । यो सँगै पहिलो चरणको कार्यव्रmम समाप्त भएको थियो ।
गौरीगञ्ज मावि पूर्व विद्यार्थी समाजका कार्य समितिका सदस्य श्री अजय दासले दोस्रो सत्रको कार्यव्रmम सञ्चालन गर्नु भएको थियो । दोस्रो सत्रको कार्यक्रम प्रारम्भमा युनिभर्सल युनाइटेड एकेडेमीका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए । यसपछि क्रमश: गौरीगञ्ज मावि पूर्व विद्यार्थी समाजका तर्फबाट सचिव डा. लेखनाथ पौडेलले समाजका क्रियाकलापसहितको प्रतिवेदन, कोषाध्यक्ष श्री वेदेन्द्र ढकालले आर्थिक प्रतिवेदन र उपाध्यक्ष श्री रमेशप्रसाद कोइरालाले विधान संशोधन प्रस्ताव सभासमक्ष पेस गर्नुभएको थियो । पेस गरिएका प्रतिवेदन तथा प्रस्तावहरूमा छलफल गरी सभाले पेस गरेकै रूपमा सर्वसम्मत पारित गरेको थियो ।त्यसपछि सभाले साधारण सभाको तेस्रो सत्र सञ्चालन तथा निर्वाचनको कार्यसम्पादन गर्नका लागि निर्वाचन समिति चयन, यस साधारण सभाको निर्णयपुस्तिका प्रमाणित गर्ने व्यक्तिहरू छनोट र लेखा परीक्षकको नियुक्तिसम्बन्धी प्रस्तावमा सर्वसम्मत निर्णय गरेको थियो । सत्रको अन्तमा यस कार्यक्रमका अध्यक्ष एवम् गौरीगञ्ज मावि पूर्व विद्यार्थी समाजका अध्यक्ष डा. कविराज वान्तवाले धन्यवाद ज्ञापन गर्नुका साथै पहिला दुईसत्रको अन्तसँगै कार्यसमितिको समय सकिएर भङ्ग भएको घोषणा गर्दै अबको साधारण सभाको बाँकी कामका लागि निर्वाचन समितिलाई कार्यभार हस्तान्तरण गर्नुभएको थियो ।
साधारण सभाको तेस्रो सत्र निर्वाचन समितिले सञ्चालन गरी कार्यसमिति छनौट तथा निर्वाचन प्रक्रिया पुरा गरेर सर्वसम्मतिले कार्यसमितिको निर्वाचन तथा छनौट पुरा गरी कार्यसमितिको घोषणा गरेको थियो । अन्तमा नवनिर्वाचित अध्यक्ष डा. कविराज वान्तवाले निर्वाचन समिति लगायतसबैलाई धन्यवाद दिनुका साथै यस कार्यसमितिका आगामी कार्यक्रममा सबैको सहयोग प्राप्त हुने अपेक्षासहित यस कार्यसमितिले सबैको सल्लाह, सुझाव र सहयोगमा क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।